२०८३, कार्तिक १५ गते

Switch TV Mode

शनिवार, कार्तिक १५ गते २०८३

इनम सापकोटा प्रकरण राज्य र समाजको चरित्रको प्रतिबिम्ब हो : नारायणकाजी श्रेष्ठ

शनिवार , कार्तिक १५, २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का नेता नारायणकाजी श्रेष्ठले ‘इनम सापकोटा’ प्रकरणलाई सामान्य घटना मात्र नभई नेपालको राज्य र सामाजिक चरित्रको प्रतीकात्मक प्रतिबिम्ब भएको बताएका छन् ।

सामाजिक संजालमार्फत उनले नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनपछि पनि राज्यका सबै संयन्त्रको लोकतान्त्रिक रूपान्तरण हुन नसकेको टिप्पणी गरेका छन् । लोकतान्त्रिक क्रान्तिपछि सामन्तवादको अन्त्य भए पनि राष्ट्रिय पुँजीको विकास हुन नसकेको र दलाल पुँजीवादले प्रभुत्व जमाएको उनको भनाइ छ ।

श्रेष्ठले सेना, न्यायालय र कर्मचारीतन्त्रजस्ता राज्यका प्रमुख अंगहरूमा पनि अपेक्षित रूपान्तरण हुन नसकेको उल्लेख गरेका छन् । राजनीतिक परिवर्तनको नेतृत्व गरेका दल र तिनका सरकारले राष्ट्रिय पुँजीको विकास तथा राज्यको समग्र लोकतान्त्रीकरणलाई प्राथमिकतामा राख्न नसकेको उनले आरोप लगाएका छन् ।

उनका अनुसार राजनीतिक दल र सरकारसमेत यही प्रवृत्तिबाट प्रभावित हुँदा राज्य र समाजमा दलाल पुँजीवादी चरित्र हाबी हुँदै गएको हो । यही पृष्ठभूमिमा दक्षिणपन्थी पपुलिस्ट शक्तिहरू सरकारमा पुग्ने वर्तमान राजनीतिक परिस्थिति निर्माण भएको उनले बताएका छन् ।

श्रेष्ठले संविधानले निर्देश गरेको समाजवादउन्मुख दिशामा अघि बढ्न दलाल पुँजीवादको अन्त्य र राष्ट्रिय पुँजीको विकास आवश्यक रहेको बताएका छन् । पछिल्ला घटनाक्रमले राज्यका अंगहरू कति दलालिकृत छन् भन्ने स्पष्ट पारेको उनको टिप्पणी छ ।

यद्यपि, सरकारले बिचौलिया र दलाल प्रवृत्तिविरुद्ध चाल्ने कदममा आफ्नो साथ र समर्थन रहने उनले बताएका छन् । तर यस्ता घटनालाई राजनीतिक जोडघटाउ र प्रतिशोधका लागि प्रयोग गरिए त्यसले दुःखद तथा घातक परिणाम निम्त्याउने श्रेष्ठले चेतावनी दिएका छन् ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार