२०८३, कार्तिक १९ गते

Switch TV Mode

बुधवार, कार्तिक १९ गते २०८३

दक्षिण कोरियाली राष्ट्रपतिसहित १६० अधिकारीको पासपोर्ट विवरण चुहावट

मंगलवार , कार्तिक १८, २०८३

सियोल। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसहित १६० भन्दा बढी उच्च अधिकारीको व्यक्तिगत तथा पासपोर्ट विवरण अनलाइनमा सार्वजनिक भएपछि सरकारले घटनाको अनुसन्धान सुरु गरेको छ ।

विदेश मन्त्रालयले मङ्गलबार उक्त विवरण कसरी चुहावट भयो र त्यसमा को–को संलग्न छन् भन्ने पत्ता लगाउन प्रहरीसहित सम्बन्धित निकायसँग मिलेर अनुसन्धान भइरहेको जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति ली र उनकी पत्नीको जन्ममिति तथा पासपोर्ट नम्बरलगायत विवरण समेटिएको कम्प्युटर फाइल गत जुनमा एउटा वेबसाइटमा अपलोड गरिएको थियो । उक्त फाइलमा राष्ट्रपतिको विदेश भ्रमणमा सहभागी भएका वरिष्ठ अधिकारीहरूको व्यक्तिगत विवरणसमेत समावेश थियो ।

राष्ट्रपतिको युरोप भ्रमणको तयारीका क्रममा प्रयोग गरिएको उक्त फाइल मालवेयर परीक्षण गर्ने अनलाइन प्लेटफर्म ‘भाइरस टोटल’ मा अपलोड गरिएको थियो । सो फाइल करिब पाँच महिनासम्म अनलाइनमा पहुँचयोग्य रहेको बताइएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता पार्क डु–सनले चुहावटबाट प्रभावित सबै व्यक्तिको पासपोर्ट नवीकरण गरिएको र वेबसाइटबाट सार्वजनिक विवरण हटाइएको जानकारी दिए । उनले घटनालाई ह्याकिङ आक्रमणभन्दा तथ्याङ्क चुहावटका रूपमा हेरिएको बताए।

यसैबीच, राष्ट्रपति कार्यालयले घटनालाई गम्भीर रूपमा लिँदै थप अनुसन्धान आवश्यक रहेको जनाएको छ । प्रमुख सचिव लिम क्वाङ–ह्युनले चुहावटको कारण, सार्वजनिक भएका विवरणको दायरा र त्यसबाट परेको सम्भावित क्षतिबारे विस्तृत छानबिन गर्नुपर्ने बताएका छन् ।।

घटनापछि राष्ट्रपतिको विदेश भ्रमणको तयारीमा प्रयोग गरिएका कम्प्युटर तथा इमेल खातासमेत जाँच भइरहेको छ ।

 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार