२०८३, कार्तिक १८ गते

Switch TV Mode

मंगलवार, कार्तिक १८ गते २०८३

चर्चित महिला उद्यमी प्रकृति मैनाली उज्यालो नेपाल पार्टीमा प्रवेश, केन्द्रीय महिला परिषद्को अध्यक्षको जिम्मेवारी

सोमवार , कार्तिक १७, २०८३

काठमाडौँ । महिला उद्यमशीलता, सामाजिक रूपान्तरण र आर्थिक सशक्तीकरणका क्षेत्रमा सक्रिय सामाजिक उद्यमी प्रकृति मैनाली उज्यालो नेपाल पार्टीमा प्रवेश गरेकी  छन् । पार्टीले उनलाई केन्द्रीय महिला परिषद्को अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ। पार्टीले महिला नेतृत्व विकास, आर्थिक आत्मनिर्भरता, उद्यमशीलता तथा राजनीतिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित मैनालीलाई उक्त जिम्मेवारी प्रदान गरेको हो।

लामो समयदेखि सामाजिक उद्यमशीलता, महिला सशक्तीकरण, रोजगारी सिर्जना तथा वातावरणमैत्री व्यवसाय प्रवद्र्धनका क्षेत्रमा क्रियाशील मैनाली नेपालका परिचित महिला उद्यमीमध्ये एक हुन् । विशेषगरी आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाहरूलाई सीप, रोजगारी र उद्यमशीलतासँग जोडेर आत्मनिर्भर बनाउने अभियानमा उनको सक्रिय योगदान रहँदै आएको छ।

मैनालीले सामाजिक उद्यमशीलतामार्फत फोहोर तथा प्रयोग भइसकेका सामग्रीलाई पुनःप्रयोग गरी उपयोगी वस्तु उत्पादन गर्ने, महिलाहरूका लागि रोजगारीका अवसर सिर्जना गर्ने तथा वातावरण संरक्षणलाई आर्थिक गतिविधिसँग जोड्ने नवीन अभ्यासलाई प्रवद्र्धन गर्दै आएकी छन् ।

उनी समाज कल्याण परिषद्अन्तर्गत सामाजिक उद्यमशीलता विकास कोषको संस्थापक बोर्ड सदस्यका रूपमा समेत आबद्ध रहेकी छन् । यस भूमिकामार्फत सामाजिक उद्यमशीलताको विकास, नीतिगत सुधार तथा दिगो आर्थिक अवसर सिर्जनाका क्षेत्रमा उनले योगदान पुर्याएकी छन् ।

महिला उद्यमशीलताको प्रवद्र्धनमा पुर्याएको योगदानको कदरस्वरूप मैनालीले नेपाल सरकारबाट सन् २०२० मा राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्राप्त गरेकी थिइन् ।  त्यसैगरी सन् २०२२ मा भारतमा प्रतिष्ठित इन्दिरा गान्धी प्रियदर्शिनी सम्मान तथा नेपालमा सामाजिक उद्यमशीलता पुरस्कार प्राप्त गरेकी थिइन् । उनी सन् २०१८ मा अमेरिकी सरकारको Professional Fellows Program मा समेत सहभागी भएकी थिइन् ।

व्यवस्थापन विषयको अध्ययन गरेकी मैनालीले महिला उद्यमशीलता, सामाजिक न्याय, हरित अर्थतन्त्र तथा चक्रीय अर्थतन्त्रका अवधारणालाई व्यावहारिक रूपमा अघि बढाउँदै आएकी छन् । उनका सामाजिक उद्यमसम्बन्धी कार्य तथा उपलब्धिहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चामा रहेका छन्।

उज्यालो नेपाल पार्टीले मैनालीको अनुभव र नेतृत्वबाट देशभरका महिलाहरूलाई संगठनमा आबद्ध गर्ने, महिलाको राजनीतिक नेतृत्व विकास गर्ने, उद्यमशीलता र स्वरोजगारलाई प्रोत्साहन गर्ने तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउने अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिएको छ।

पार्टीले महिला सहभागितालाई केवल प्रतिनिधित्वमा सीमित नराखी नीति निर्माण, नेतृत्व, उद्यमशीलता र आर्थिक अवसरमा समान पहुँच सुनिश्चित गर्ने दिशामा केन्द्रीय महिला परिषद्लाई सक्रिय बनाउने लक्ष्य राखेको छ।
मैनालीको पार्टी प्रवेश र नयाँ जिम्मेवारीसँगै सामाजिक उद्यमशीलता तथा महिला आर्थिक सशक्तिकरणको क्षेत्रमा प्राप्त अनुभवलाई राजनीतिक तथा नीतिगत तहसँग जोड्ने अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार