जाँडरक्सी नियन्त्रण गर्न सामूहिक प्रतिवद्धता

चामुण्डा (दैलेख)  ।  

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका राजनीतिक दलहरुले गाउँमा जाँडरक्सी नियन्त्रित गर्ने प्रतिवद्धता जनाएका छन । आईतबार जम्बुकाँधमा चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सुर्यबहादु्र शाहीको अध्यक्षतामा बसेको सर्वदलिय बैठकमा चामुण्डाविन्द्रासैनीलाई जाँडरक्सी सेवन तथा वेचविखन र जुवातास नियन्त्रण गर्ने सामुहिक प्रतिवद्धता जनाएका हुन ।

बैठकमा राजनीतिक दलका नेताहरुले सामाजिक रूपान्तरण अभियानमा चामुण्डाविन्द्रासैनी नगरपालिकाले शुरु गरेको अभियान सह्राहनीय भएको बताएका छन । ‘यसले मुलुकलाई समृद्ध बनाउने लक्ष्यमा ठूलो सहयोग पु¥याउनेछ,’ बैठकका सहभागीहरुले भने ।

चामुण्डाविन्द्रासैनी नगरपालिकाकाले गत असार ३१ गते नगरसभाबाट मदिरा नियन्त्रण कार्यविधि पास गरि मातहतका सबै वडामा मदिरा नियन्त्रण सम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेको छ । गाउँगाउँमा भेला र बैठकको मध्यमबाट मदिरा नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गर्दै नगरलाई जाँडरक्सी र जुवातास नियन्त्रण क्षेत्र बनाउने तर्फ अघि बढ्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सुर्यबहादुर शाहीले बताए ।

केही समयपछि नै सबै वडाहरुमा पनि जाँडरक्सी र जुवातास नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरिने उनले जानकारी दिए । ‘अभियानलाई सुरुमै निषेधित रूपमा नभई नियन्त्रित अभियानका रूपमा अघि बढाउनेछौँ’ नगर–प्रमुख शाहीले भने, ‘अभियानलाई सुरुमा नै निषेधित रूपमा अघि बढाउँदा सफलता पाउन नसकिने देखिएकाले नियन्त्रित अभियानका रूपमा घोषणा गरेर बिस्तारै निषेधित क्षेत्रका रूपमा अघि बढाउनेछौँ ।’