दैलेखका ४ स्थानीय तह जलवायु परिवर्तनको उच्च जोखिममा

अशोज १५, दैलेख
जलवायुजन्य प्रकोपबाट असरमा परेका दैलेखको दुल्लु नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, भगवतीमाई गाउँपालिका र डुँगेश्वर गाउँपालिकाका सवै वडाहरूमा जोखिम न्यूनीकरणका लागि कार्यायोजना कार्यान्वयनको तयारी भएको हो।

हरेक घरधुरीका व्यक्तिलाई सामुहिक रुपमा जम्मा गरेर विभिन्न चरणमा टोल र बस्तीस्तरमा रहेका जनताहरूले गाउँमै स्रोत नक्सा तयार गरेर, समस्या पहिचान गर्छन्, समाधानका उपायहरू खोज्छन् सोही अनुसार गाउँपालिका र नगरपालिकाको सहयोगमा बस्तीस्तरमा अनुकूलनका कामहरू सुरु गर्ने काम भएको हो। धमाधम सडक निर्माण भएका गाउँहरूमा अहिले पानीका मुहानहरू सुकेका छन्, पहिरोको उच्च जोखिममा परेका छन्।

यस्ता जोखिममा परेका गाउँ र वस्तिीका मानिसहरूमा जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि अनुकूलन कार्ययोजना नेपाल सरकार बन मन्त्रालय अन्तरगत सुरु गरिएको पहाडी साना किसानका लागि अनुकूलन आयोजनाका जिल्ला आयोजना संयोजक कमल आचार्यले बताएका छन्। जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय कृषि विकास कोषको आर्थिक सहयोग नेपाल सरकार वन तथा वातावरण मन्त्रालय पहाडी सना किसानका लागि अनुकूलन आयोजना दैलेखमा संचालन भएको छ।

गत वर्षदेखि संचालन भएको आयोजनाले दैलेखका ४ वटा स्थानीय तहमा प्रकोप र स्रोतलाई मिलाएर योजना निर्माण गर्ने काम गरेका छन्। पहाडी क्षेत्रका साना किसानहरूलाई जलबायु परिवर्तन तथा जोखिम तथा असरलाई सके सम्म कम गरेर उनीहरूको जीवनस्तर उठाउने जलवायु जन्य प्रकोपसँग सामना गर्न र अनुकूलनमा क्षमता अभिबृद्धि गर्न आयोजनाले सहयोग गर्ने र त्यसको जानकारी स्थानीय तहलाई दिए पश्चात स्थानीय तहले त्यस्ता योजना निर्माण गर्न लागेको आचार्यले बताए। आयोजनाले एउटा अनुकूलन कार्ययोजना बरावर तीन वर्षमा एक करोड २० लाख खर्च गर्छ, दैलेखमा ४ वटा स्थानीय तहमा बिभिन्न वडा स्तरमा ३५ वटा अनुकूलन कार्ययोजना तयार गरिसकेको छ।

अव कार्यान्वयनका लागि काम संचालन हुने छ। तीन बर्षमा ४२ करोड रकम अनुकुलनका लागि अनुदान स्वरुप साना किसानहरूको खातामा सिधैँ जम्मा हुन्छ। स्थानीय सरकारले यो रकममा थप २० प्रतिशत थपेर रकम अनिवार्य लगानी गर्नुपर्ने छ। लाभग्राही साना किसानले जन श्रमदानमार्फत कम्तिमा २० प्रतिशत लगानी गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ। चामुण्डा बिन्द्रासैनी नगरपालिकामा अहिले जम्मा २९ प्रतिशत मात्र वन क्षेत्र रहेको छ।

पहिरो र भूक्षयको धेरै जोखिम छ। नगरपालिकामै गएर जोखिमको बारेमा नगर प्रमुख र अन्य निर्वाचित जनप्रतिनिधिहरूले जानकारी पाएपछि यसको रोकथाममा मेहनतका साथ लाग्ने चाुमुडाबिन्द्रासैनी नगरपालिकाकी उपप्रमुख तारा शाहीले बताइन्। जलवायु परिवर्तनको असरले जिल्लाका विभिन्न भागमा देखिएको संकट न्यूनीकरण उपायको विस्तृत कार्ययोजना लापा बनाएर सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरे पश्चात आयोजना संचालन भएका स्थानीय तहले आवश्यक बजेट बिनियोजन गरेका हुन् ।

दुल्लु नगरपालीकाका नगर प्रमुख घनश्याम भण्डारीले स्थानीय अनुकूलन कार्य योजना निर्माण भएको र दुल्लु नगरपालिकाले समेत त्यसको कार्यान्वयनका लागि एक करोड बजेट बिनियोजन गरेको भन्दै आयोजनालाई प्रभावकारी ढंगबाट अगाडि बढाउने बताए ।