प्रधानन्यायाधीशमा जोशी अस्वीकृत, अब को बन्ला प्रधानन्यायाधीश ?

काठमाडौं ।  अन्तत संसदीय सुनुवाई समितिको मतदान प्रकृयाबाट दीपकराज जोशी अस्किृत हुन पुगेका छन् ।

संसदीय सुनुवाईको इतिहासमा सुनुवाई समितिबाट नाम अनुमोदन नहुने जोशी पहिलो प्रस्तावित प्रधानन्यायाधीश बन्न पुगेसँगै अब प्रधानन्याधिस को बन्छ भन्ने सर्वत्र चासो बढेको छ ।

जोशी अस्वीकृत भएपछि अब संवैधानिक परिषद्ले पुनः नयाँ सिफारिस गर्नुपर्नेछ । संवैधानिक परिषद्को सिफारिस संसदीय सुनुवाइ समितिमा पुगेर यसैगरी सुनुवाइ हुनेछ । समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

जोशीपछि ओमप्रकाश मिश्र सर्वोच्चका वरिष्ठतम् न्यायाधीश हुन् । त्यसपछि चोलेन्द्र शमशेर जबरा र दीपककुमार कार्कीको नाम आउँछ । सम्भवतः यिनैमध्ये एकजना भावि प्रधानन्यायाधीश बन्नेछन् ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशी सुनुवाई समितिको दुई तिहाई मतबाट अस्वीकृत भएका हुन् । प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गरेपछि दुई तिहाई बहुमतका आधारमा जोशीको नाम अस्वीकृत भएको हो । सिंहदरवारमा बसेको सुनुवाई समितिको बैठकमा मतदानहुँदा जोशीको पक्षमा एक भोट पनि खसेन ।

जोशीको शैक्षिक प्रमाणपत्र र उनले यसअघि गरेका कतिपय फैसला विवादित बनेका थिए । समितिको शुक्रवार बसेको बैठकको २ तिहाइ बहुमतले जोशीलाई अस्वीकृत गरेसँगै उनको प्रधानन्यायाधीश बन्ने बाटो बन्द भएको छ ।

संवैधानिक परिषद्को गत जेठ २९ गते बसेको बैठकले कामु प्रधानन्यायाधीश जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । त्यसपछि यही साउन १० गते जोशीका सम्बन्धमा समितिमा सुनुवाइ भएको थियो ।

सुनुवाइका क्रममा सांसदहरूले शैक्षिक प्रमाणपत्र, उनले यसअघि गरेका कतिपय विवादित फैसला, छोरा र छोरीको विवाहमा गरेको अत्यधिक खर्च लगायतका विषयमा प्रश्न गरेका थिए । ती प्रश्नमा जोशीको जवाफ चित्तबुझ्दो नभएको सांसदहरूको ठहर छ ।

जोशी अतिरिक्त न्यायाधीश हुँदै न्याय सेवामा प्रवेश गरेका थिए । उनी पुनरावेदन अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्वच अदालतको न्यायाधीश बनेका हुन् ।

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली गत फागुन ३० गते पदमुक्त भएपछि वरिष्ठतम् न्यायाधीश जोशीले कायममुकाम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका छन् ।