सिड्नीमा अब हरेक महिना नेपाली फिल्म

अष्ट्रेलियामा बढ्दै गएको नेपाली चलचित्रको क्रेजले यतिबेला नेपाली चलचित्र मेकरलाई ठूलो राहत भैरहेको छ । व्यक्तिगत पहल, पहुँच र सम्बन्धको आधारमा पनि जोखिम उठाएर अष्ट्रेलियामा नेपाली चलचित्रको विकास र प्रदर्शनका लागि लाग्ने यूवाहरुको जमात बढ्दै गएको छ ।

नेपाली चलचित्रलाई निरन्तर रुपमा व्यवस्थित र अगाडि बढाउन सुनिल उप्रेती कम्मर कसेर लागेका छन् । लामो समयदेखि शिक्ष र स्वास्थ्य क्षेत्रमा सक्रिय उप्रेतीको पहलमा अब हरेक महिना सिड्नीमा नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । चलचित्रको प्रदर्शनका लागि उनले सिड्नीको हर्सभिलमा रहेको सिभिक थिएटरसँग संझौता गरेका छन् ।

यो स्थानमा नेपालीहरुको बाक्लो उपस्थिती छ । जुलाई महिनादेखि संझौता अनुरुप काम हुने उनले बताएका छन् । सुरुमा महिनामा एउटा चलचित्र ल्याउने, राम्रो हुँदै गएको खण्डमा महिनामा दुइवटा र हरेक हप्ता नयाँ चलचित्र चलाउने उनको योजना छ ।