विपन्न विद्यार्थीलाई स्टेशनरी सामाग्री

सिन्धुपाल्चोक : बालबालिकाको क्षेत्रमा काम गदैँ आएको किवानिज क्लव अफ सिन्धुपाल्चोकले ७५ जना विपन्न विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ।

किवानिज क्लव अफ सिन्धुपाल्चोकले श्री वागेश्वरी आधारभूत विद्यालय, बाह्रबिसे–३ का ७५ जना विपन्न विद्यार्थीलाई झोला, कपी, बिस्कुट, जुस लगायतका खेलकुदका सामाग्री वितरण गरेको हो।

कार्यक्रममा बोल्दै बाह्रबिसे– ३ का वडा अध्यक्ष टेकबहादुर भण्डारीले किवानिज क्लव अफ सिन्धुपाल्चोकको सहयोगको निरन्तरताका लागि आग्रह गरे।

सिन्धुपाल्चोक किवानिज क्लवका संस्थापक अध्यक्ष नारायणबहादुर राउतले बालबालिका मार्फत् विश्वलाई स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न क्लव अग्रसर रहेको बताए। उनले क्लव मार्फत् सिन्धुपाल्चोक जिल्लाका दुर्गम स्थानका सरकारी विद्यालयमा स्टेसनरी, झोला, खाजा, नेतृत्व विकास र रक्तदान लागायतका सामाजिक कार्यक्रम आगामी दिनमा समेत निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै किविनिज क्लवका डिस्ट्रिक सेक्रेटरी लक्ष्मण लम्सालले सिन्धुपाल्चोक किवानिज क्लवको सामाजिक कार्यको सराहना गदैँ आगामी दिनमा समेत यस प्रकारका सामाजिक कार्यको निरन्तरता दिन आग्रह गरे।

डिस्ट्रिक भाइस गर्भनर एकराज पन्तले राजधानी नजिकैको जिल्ला भएर पनि विपन्न विद्यार्थीका लागि आधारभूत सामग्रीको पहुँच नहुनु दुःखद भएको भन्दै यस तर्फ सम्बन्धित निकायको दृष्टि पुग्नुपर्नेमा जोड दिए।

सो अवसरमा किवानिज चिल्ड्रेन फण्डका अध्यक्ष दामोदर ढकाल लगायतका पदाधिकारी उपस्थित थिए। कार्यक्रमको संयोजन क्लवका सहसचिव रामचन्द्र थापाले गरेका थिए।