रारामा प्रधानमन्त्रीले गरे शब्दको खेती !

ऋषिमुनिका छोराछोरीुले नोट गरिराख्ने कि ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उषाको लालीसँगै रारातालको डिलमा बसेर देशबासीका नाममा सम्वोधन गरे । १८ पृष्ठ लामो, ३१ बुँदा रहेको पौनेघण्टा वाचन गरिएको प्रधानमन्त्रीको भाषण निकै लामो र भावनाहरुले ओतप्रोत थियो ।

हुन त प्रधानमन्त्रीले रारा तालबाट केही नयाँ घोषणा पनि गरेका छन् । प्रधानमन्त्रीका ती घोषणालाई ‘ऋषि मुनीका छोराछोरीहरु’ले पक्कै पनि नोट गरेर राख्नेछन् । किनभने, प्रधानमन्त्री ओलीले जनतालाई आश्वासन दिँदै भनेका छन्–‘पाँच वर्षभित्रैमा देशको मुहार स्पष्ट अनुभूत हुने गरी बदलिने छ, सकारात्मक दिशामा । यसमा आश्वस्त हुन र नयाँ सरकारका काममा आवश्यक सुझाव, चासो र सहयोग पुर्‍याउनु हुन अनुरोध गर्दछु ।’

प्रधानमन्त्रीले के–के गर्छु भने ?

राराबाट गरिएको देशबासीका नामको सम्वोधनमा प्रधानमन्त्रीले यस्ता सपनाहरु पस्केका छन्–

–पाँच वर्ष आउने चुनावका बेला अमूल्य मत सही ठाउँमा परेको रहेछ भन्ने मतदाताहरुलाई महसुस गराउने गरी काम गर्ने ।

–केही वर्षभित्र नेपाललाई अर्गानिक नेपाल बनाउने ।

–गरिबीको रेखामुनि रहेका बालवालिका र ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने ।

–कृषि प्रधान देशलाई कृषि सवल देश बनाउने । कृषिमा निर्भर जनसंख्या ५ वर्षमा २५ प्रतिशतमा सीमित गर्ने । कृषि उत्पादकत्व ५ वर्षभित्र चारगुणा बढाउने र राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान २० देखि २५ प्रतिशतमा सीमित गर्ने । कृषिको आधुनिकीकरण गर्ने ।

– उर्जाको विकास गर्ने । रेल र जलमार्गसहितको आधुनिक यातायातको खाका बनाइने ।

–आर्थिक अभावका कारण वीचैमा पढाइ छाड्नुपर्ने अवस्थाको अन्त्य गर्ने ।

–सामन्ती शोषणका सबै अवशेषहरुको अन्त्य गर्ने, सामाजिक न्यायसहितको विकास गर्ने ।

–लोकतन्त्र, शक्ति सन्तुलन र स्वतन्त्र न्ययापालिकाप्रति प्रतिवद्ध रहने ।

–प्राविधिक र साधारण शिक्षालाई ७०र३० को अनुपातमा व्यवस्थित गर्ने ।

–विगतमा गुमाइएको समयको समेत शोधभर्ना हुने गरी तीव्र विकासको गति योजनावद्ध ढंगले अघि बढाउने ।

–विदेशी लगानीसँग हातेमालो गर्ने । लगानी मैत्री वातावरण बनाउने । अनावश्यक प्रशासनिक झण्झट हटाउने । नेपाल बन्छ र विकास गरेर धनी भइन्छ भन्ने जनतामा विश्वास जगाउने ।

–विधिको शासन कडाइपूर्वक लागू गर्ने । भ्रष्टाचार अन्त्य गर्ने, हिंसाको अन्त्य गर्ने र पेशा व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गर्ने ।

–विविधता, बहुलता र सामाजिक सदभावमा प्रतिवद्ध रहने । लोकतन्त्रलाई जीवनपद्दतिका रुपमा अंगीकार गर्ने ।

–छिमेकीसँग घनिष्ठ सम्बन्ध राख्ने । नेपालको अन्तरराष्ट्रिय प्रतिष्ठा उच्च बनाउने ।

– विनाबाहना तीव्र बेगमा अगाडि बढ्ने । जुनसुकै चुनौतीको पनि पहाड नाघ्न सकिन्छ र नेपाल बन्छ भन्ने आत्मविश्वास जगाउने कुरामा केन्द्रित हुने । जनताको अपेक्षालाई विफल हुने नदिने ।

प्रधानमन्त्री ओलीले १८ पृष्ठ लामो आफ्नो सम्वोधनमा समेटिएका कार्यक्रमिक अभिव्यक्तिहरुको सार यति नै हो । शक्तिशाली प्रधानमन्त्रीले दिएका यी आश्वासनहरुमा कुन(कुन पक्षहरु छुटे, अनि कुन कुन आश्वासनहरु पूरा हुन सक्लान् या नसक्लान् रु यसमा राष्ट्रिय बहस गर्ने जिम्मेवारी सचेत नागरिकहरुकै हो ।

केही भावुक कुराहरु

प्रधानमन्त्री केपी ओली दृढ ईच्छाशक्ति बोकेका नेता हुन् । उनी लामो इतिहाससमेत बोकेर यहाँसम्म आइपुगेका छन् । यही भएर हुनुपर्छ, ओलीले आफ्नो सम्वोधनमा भनेका छन्– ‘तेह्रथुम जिल्लाको निम्नमध्यम परिवारमा जन्मिएर जीवनका अनेकौं मोड पार गरेर यस विन्दुसम्म आइपुगेको आफ्नो जीवन– यात्रालाई मैले परिवर्तनका सम्वाहक जनताको अदम्य ईच्छाशक्तिको परिणाम ठानेको छु । एउटा सामान्य नागरिकलाई मुलुकको कार्यकारी प्रमुख बनाउन सक्ने लोकतान्त्रिक प्रणालीको सामथ्र्यका रुपमा मानेको छु ।’

यति भनिसकेर प्रधानमन्त्री ओलीले आफू देश, जनता र लोकतन्त्रप्रति अविचलितरुपमा प्रतिवद्ध रहने बताएका छन् । प्रातःस्मरणीय सहीदहरुप्रति सम्मान व्यक्त गरेका छन् । लौरो टेकेर, बच्चा बोकेर अनि हिंसा सहेर चुनाव जिताउने मतदाताहरुलाई ढीलै भए पनि दोहोर्‍याएर धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीको लम्बेतान सम्वोधनमा यस्ता भावनात्मक कुराहरु धेरै छन् । कतिपय विषयहरु उनले आफ्नो व्यक्तिगल महत्तासँग घोलेर पस्केका छन् भने कतिपयचाहिँ राराको काखमा पुगेकाले हुनुपर्छ साहित्यरस समेत मिसाएर प्रस्तुत गरेका छन् । प्रधानमन्त्रीको ३१ बुँदे सम्वोधन ‘कार्यक्रम प्रधान’ कम र ‘भावना प्रधान’ बढी छ । र, यसैले गर्दा सम्वोधन लामो बनेको हो ।

नयाँ वर्षको शुभकामनाबाट सुरु गरिएको सम्वोधन ‘कर्णाली प्रदेश सामाजिक आर्थिक रुपान्तरणको पर्खाइमा छ’ भन्ने पदावलि हुँदै अगाडि बढ्छ । समृद्ध नेपाल र सुखी नेपालीको नारा उल्लेख गरिसकेपछि प्रधानमन्त्री आफ्नो दोस्रो कार्यकालप्रति गर्व प्रकट गर्छन् । र, ०७४ सालले आफूमा समृद्धिको आधारशीला खडा गर्ने दायित्व सुम्पेको बताउँछन् ।

प्रधानमन्त्रीको सम्वोधन जनतामा आशा जगाउने खालको छ । तर, राराको मनोरम दृश्यावलोकन गर्दै गरेको शब्दको खेती व्यवहारमा कार्यान्वयन होला रु या मविवि शाहको कविताजस्तो मात्रै बन्ला रु

०४६ सालयताका केही दशकसम्म कुनै न कुनै रुपमा केन्द्र, स्थानीय तह अनि ब्यूरोक्रेसीमा बलियो उपस्थिति जनाइरहेको पार्टी नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली राराको प्राकृतिक छटाबाट भावुक हुँदै भन्छन्– ‘गौतमबुद्ध जन्मेको हाम्रो देश‘ यस्तो गौरवपूर्ण इतिहास बोकेको राष्ट्र कसरी पछाडि परिरहन मिल्छ रु नेपाललाई पछाडि पार्ने सामन्तवाद अब इतिहास भइसकेको छ । पराधीन बनाउने सोचहरु कमजोर भएका छन् । विभाजित गर्ने शक्तिहरु किनारा लागेका छन् । राजनीतिलाई सत्तारोहण र जिम्मेवारीलाई निजी या संकीर्ण समूहगत स्वार्थपूर्तिको भर्‍याङ ठान्ने चिन्तन पराजित भएको छ ।’

प्रधानमन्त्री ओली अगाडि थप्छन्– ‘अब विकास या समृद्धिको विषय कुनै अमूर्त वैचारिक मन्थन या सुदूर भविश्यको काल्पनिक कथा रहेन ।’

प्रधानमन्त्री ओली मुलुकका शक्तिशाली प्रधानमन्त्री हुन् । देशका जननिर्वाचित कार्यकारी प्रमुख हुन् । उनी प्रश्न गर्ने होइन, जवाफ दिने ठाउँमा छन् । तर, उनी आफ्नो सम्वोधनमा यस्तो भावुक प्रश्न गर्छन्– ‘जतिबेला बाँकी दुनियाँ अन्धकारमा थियो, अक्षर हुन्छ भन्ने जान्दैन्थो, त्यतिबेला पनि हाम्रा पूर्खाहरु जीवजन्तु, वनस्पति, प्रकृति, भूगोल र खगोलको अध्ययन गर्थे । कला संस्कृति र साहित्यको सिर्जना गर्थे । ज्ञानको उत्पादन, संग्रह र विस्तार गर्थे । ती ज्ञानी, ती ध्यानी, ती विद्वान ऋषि र मुनिका सन्तान आज निरक्षर र अनपढ हुने, स्कुल जान नपाउने रु तिनका सन्तान विद्यालयमा जान नपाउने रु स्कुल जान नपाउने रु म कवि महानन्द सापकोटालाई स्मरण गर्छु– विधिको यदि त्यही विधान छ भने अव त्यो विधिको पनि आयु पुग्यो ।’

एमाले अध्यक्ष केपी ओलीकै पार्टीका नेताहरुले देशमा सैयौंको संख्यामा निजी विद्यालय र कलेजहरु खोलेका छन् । ती विद्यालय र कलेजहरुले यतिबेला नयाँ भर्ना लिइरहेका छन् र अभिभावकहरुको ढाड सेकिरहेका छन् । शिक्षालाई महंगो बनाउने र व्यापारीकरण गर्ने अनि गरीबका छोराछोरीले पढ्नै नसक्ने बनाउनेमा एमालेजनको समेत ठूलो योगदान रहँदै आएको छ देशमा । के अब यो विधिको पनि आयु पुगेकै हो त रु सम्भवतः ‘ऋषिमुनिका सन्तान’ ले अब यो प्रतिप्रश्न प्रधानमन्त्रीलाई गर्नुपर्ने भएको छ ।

किनभने, प्रधानमन्त्री ओलीले आफ्नो सम्वोधनमा भनेका छन्– ‘ पुनः एकपटक जोड दिन चाहन्छु– अब हाम्रा बालबालिबा स्कुल जान्छन् । ऋषिमुनिका सन्तान अब स्कुल जान्छन् जान्छन् । अबदेखि कुनै पनि बालवालिका विद्यालयको पहुँच भन्दा बाहिर रहने र आर्थिक अभावका कारण वीचैमा पढाइ छाड्नुपर्ने बाध्यताको अन्त्य हुन्छ ।’

प्रधानमन्त्री ओलीले आश्वासन दिएका छन्– निकट भविश्यमा शिक्षा सम्बन्धी विस्तृत विवरण र कार्यक्रम तयार गरी सोही वमोजिमको शिक्षा नीति लागू गरिनेछ ।’

शिक्षामा जस्तै स्वास्थ्यमा पनि प्रधानमन्त्री ओलीले निकै भावुक मन्तव्य दिएका छन्– ‘जुन देशमा जडिबुटी छ, ढुंगा शिलाजीत हुन्छ, माटो सिम्रिक हुन्छ, जुन देमा उम्रने झार यार्सागुम्बा, पाँच औंले, संजीवनी हुन्छ, त्यस देशमा औषधिको अभावमा मान्छे मर्ने रु अब यो स्थितिको अन्त्य गर्नैपर्छ । त्यसर्थ स्वास्थ्यको सन्दर्भमा नेपाललाई केही वर्षभित्र अर्गानिक नेपाल बनाइने छ ।’

निजी विद्यालय र कलेजहरुमा जस्तै अस्पताल र मेडिकल कलेजहरुमा समेत एमाले नेता कार्यकर्ताहरुको ठूलो लगानी छ । कतिपय ठाउँमा एमाले नेता र सांसदकै संलग्नतामा अस्पतालहरु खुलेका छन् । निजी अस्पताल सञ्चालकको घरमा मार्सी धानको भात खाएर ओली र प्रचण्डले वार्ता समेत गर्ने गरेका छन् । तर, देशमा औषधिको अभावमा मान्छे मर्नेक्रम जारी छ । कम्युनिष्ट नेतृत्वको सरकारले विरामीलाई उपचारमा सहुलियत दिनेको साटो विरामीसँग भ्याट लिने गरेको छ ।

एमाले अध्यक्ष केपी ओलीकै पार्टीका नेताहरुले खोलेका निजी विद्यालय र कलेजहरुले नयाँ भर्ना लिँदा अभिभावकहरुको ढाड सेकिरहेका छन् । के अब यो विधिको पनि आयु पुगेकै हो त रु

यस्तो अवस्थामा अब ओली सरकारले स्वास्थ्य र शिक्षामा नेपाली जनतासँग लिँदै आएको ‘कर’ मिनाहा गर्ला रु निजी शैक्षिक संस्थाहरुको महंगो भर्ना शुल्कमा नियमन गर्ला रु यी प्रश्नहरुमाथि कुनै छलफल छैन । प्रधानमन्त्री भावुक भएर भन्दैछन्– ‘औषधिको अभावमा मान्छे मर्ने रु अब नेपाललाई केही वर्षभित्र अर्गानिक नेपाल बनाइने छ ।’

नेपाली समाजमा एउटा आहान छ– ढाँटको निम्तो खाई पत्याउनु ।

प्रधानमन्त्रीको सम्वोधन समग्रमा असाध्यै जनपक्षीय छ । देशकै पक्षमा छ । भावी पुस्ताको पक्षमा छ । जनतामा आशा जगाउने खालको छ । तर, के प्रधानमन्त्रीले राराको मनोरम दृश्यावलोकन गर्दै गरेको यो शब्दको खेती व्यवहारमा कार्यान्वयन होला रु या मविवि शाहको कविताजस्तो मात्रै बन्ला रु

प्रधानमन्त्री केपी ओली त्यागी र संघर्षशील नेता हुन् भन्नेमा विवाद छैन । तर, सुनको किस्तीमा इतिहासको ब्याज पस्केर मात्र विकास, समृद्धि र सामाजिक न्याय प्राप्त हुँदैन, यसका लागि त ठोस नीति, योजना र कार्यक्रम चाहिन्छ, जुन प्रधानमन्त्री ओलीले अहिलेसम्म ल्याउन सकेका छैनन् ।

हुन त प्रधानमन्त्री ओली आफ्ना आलोचकहरुलाई अराष्ट्रवादी, फर्सी बुद्धिजीवी वा आफू जेल परेका बेला नजन्मिएको मान्छे भन्ने गर्छन् । यद्यपि रारामा भने उनले अलिकति घमण्ड कम गर्ने प्रयास गर्दै भनेका छन्– ‘आश्वस्त हुन र नयाँ सरकारका काममा आवश्यक सुझाव, चासो र सहयोग पुर्‍याउनु हुन अनुरोध गर्दछु ।

स्रोत ः अनलाइनखबर