विदेशमा संस्कृत शिक्षा : सबै धर्म र जातिका लागि

प्रसिद्ध दार्शनिक अल्डुअस हक्सले भनेका छन् “सनातन दर्शन (Penennial Philosophy) लाई हिन्दु, बौद्ध, हिब्रू, ताओ, क्रिस्चियन, इस्लामले वर्णन गरेको छन् । सम्भवतः भगवद्गीताले सबैभन्दा राम्रोसँग वर्णन गरेको छ ।”

एटम बमको पिता मानिने भौतिकशास्त्री जुलियस ओपनहाइमर भन्छन्, “आधुनिक भौतिक शास्त्रमा पाइने कुरा प्राचीन हिन्दु विज्ञानको परिष्कार हो ।” त्यसैगरी क्वान्टम फिजिक्सका प्रतिपादक नोबेल पुरस्कार विजेता वर्नर हाइन्सवर्गले भनेका छन्, “क्वान्टम फिजिक्सका केही अनौठा लाग्ने विचारहरू बुझ्न वेदान्तको अध्ययनले सजिलो पार्छ ।”

भनिन्छ, भारत वर्षका प्रमुख दुई विश्वविद्यालय तक्षशिला र नालन्दामा भएको धार्मिक दङ्गाका कारण विश्वविद्यालयमा रहेका वैदिक वाङ्मयका असङ्ख्य ग्रन्थरत्नहरू डढेर खरानी भए । त्यसपछि सनातनी समाजमा आधिकारिक ग्रन्थ वा प्रमाणको अभाव देखियो । यसकारण सनातन धर्मावलम्बीहरूले आफूलाई कण्ठस्थ भएका सबै कुराहरू लिपिबद्ध गर्न अनुरोध गरे । लिपिबद्ध हुँदा वेदका ऋचाहरूमा विविधता पाइयो । यसकारण वेदका ऋचाहरूलाई प्रामाणिक आधार प्रदान गर्न जर्मन विद्वान् आर्थर डि म्याक्डोनाल्डको प्रमुख भूमिका रहेको छ । उनले यसलार्इ लिपिबद्ध गर्न समन्वयकारी भूमिका खेले । यसबाट वेदको पाश्चात्य जगत्मा भएको लोकप्रियताको सहज अनुमान गर्न सकिन्छ ।

उल्लिखित प्रसङ्गमा प्रसिद्ध लेखक स्व. जगदीश घिमिरेका अनुसार सन् १६५७ तिर सम्राट् अकबरका नाति दारा शिकोहले वेदका विद्वान्हरूको सहयोगमा पचास ओटा उपनिषद्हरूलाई फारसीमा अनुवाद गरे । शिकोहले भनेका छन्, “सबै ईश्वरीय ग्रन्थहरू मध्ये ईश्वरले सबै भन्दा पहिले प्राचीन ऋषिहरूको ग्रन्थ वेदमा आफूलाई प्रकट (Reveal) गरे । कुरानले पनि सन्दर्भहरू सहित उपनिषद्हरूलाई प्रथम ईश्वरीय प्राथमिक स्रोत र अद्वैतवादको महासागर मानेको छ ।” ती अनुदित उपनिषद् फ्रेन्च र ल्याटिनमा पनि अनुवाद गरिए । यिनै अनुवादले वेदको महत्व, सान्दर्भिकता र लोकप्रियतालाई शिखरमा पुयार्ए । यसर्थ वेदलाई पाश्चात्य जगत्मा लोकप्रिय बनाउनमा दारा शिकोहको विशेष योगदान रहेको छ ।

फ्रान्सका प्रख्यात विद्वान् भोल्टेयर वेदका प्रशंसक थिए । उनको भनाइमा वेद पश्चिमलाई पूर्वको सबैभन्दा बहुमूल्य उपहार हो जसले पश्चिम सदाकाल पूर्वको ऋणी हुन पुग्छ । सिल्वाँ लेवी र लुई रेनोले वैदिक साहित्यलाई फ्रान्समा व्यापक प्रचार प्रसार गरे । रोमाँ रोलाँले स्वामी रामकृष्ण परमहंस र स्वामी विवेकानन्दको जीवनी मार्फत पौरस्त्य दर्शन सम्बन्धी गहकिला चिन्तन प्रस्तुत गरेका छन् । यी चिन्तनलाई लेवी र रेनोकै योगदानको प्रतिफलका रूपमा लिइन्छ । रोलाँले सन् १९१५ मा साहित्यमा नोबेल पुरस्कार पनि पाएका छन् ।

विगतको दशकमा Sanskrit Computational Linguistics का बारेमा फ्रान्सको पेरिसबाट प्रारम्भ भई थुप्रै अन्तर्राष्ट्रिय सङ्गोष्ठीहरू सम्पन्न भइसकेका छन् । त्यस पछि संस्कृतलाई हेर्ने अन्तर्राष्ट्रिय दृष्टिकोणमा परिवर्तन आएको छ । भारतमा यही वैशाख १६ र १७ गते सम्पन्न अन्तर्राष्ट्रिय गुरुकुल सम्मेलनलाई यसैको अनुकूलनका रूपमा विश्लेषण गर्न सकिन्छ । संस्कृतमा सबै यता तिरबाट मात्र गएका छैनन्, उतातिरका अभ्यास पनि अनुकरणीय बन्न थालेका छन् ।

प्रसिद्ध जर्मन विद्वान् शोपेन हावर उपनिषद्का असल पाठक हुन् । उनले भनेका छन्, “उपनिषद्हरू मेरो जीवनको सहारा भएका छन् । मेरो मृत्युको पनि सहारा हुने छन् ।” साहित्यकार गेटे कालिदासको अभिज्ञान शाकुन्तलका प्रसंशक थिए । म्याक्समुलरले पच्चिस वर्ष लगाएर ऋग्वेदलगायत पौरस्त्य वाङ्मयका ५१ ग्रन्थ जर्मन भाषामा अनुवाद गर्न लगाएका थिए । यसर्थ जर्मनी संस्कृतानुरागीहरूका लागि उर्वर भूमि मानिन्छ ।

जर्मनीमा इन्डोलोजी शीर्षकमा वेद र संहिता आदि गरिएका श्रुति ग्रन्थहरूको Erdagen, Fryberg, Humberg / Margergtuebigen जस्ता विश्वविद्यालयहरूले पठनपाठनको व्यवस्था गरेका छन् । त्यहाँ उपनिषदादि स्मृति ग्रन्थहरूलाई Bonn, Bochun, Fryberg / Marberg जस्ता विश्वविद्यालयहरूले अध्ययन अध्यापन गराइरहेका छन् । साथै बुद्ध दर्शनलाई Bonn, Gyosthingen, Humberg, Munshen / Maints जस्ता विश्वविद्यालयहरूले पढाइ रहेका छन् । संस्कृत साहित्यको इतिहासलाई भने Maints, Marbarg तथा Muenhen जस्ता विश्वविद्यालयहरूले पढाइ रहेका छन् । यस्ता प्रसङ्ग जर्मनीकै माइकल हानले प्रस्तुत गरेको Sanskrit and Buddhist studies in Germany शीर्षकको अनुसन्धानात्मक प्रतिवेदनमा पनि पाइन्छ ।

लर्ड कर्जन बेलायतमा रहेको अक्स्फोर्ड विश्वविद्यालयका पूर्व कुलपति हुन् । लर्ड वारेन हेस्टिङ्स भारतको पहिलो गभर्नर हुन् । वाइ. बी. एट्सले सन् १९२३ र विलियम ब्लेकले सन् १९२५ नोबेल पुरस्कार पाएका थिए । उल्लिखित जस्तै दसौँ बेलायती विद्वान्हरूले वेदान्तको अध्ययन अनुसन्धान तथा प्रचार प्रसार गरेका छन् । अठारौँ शताब्दीमा Worren Hastings ले अनुवाद गरेको विवार्त्रवसेतु र William Jones ले अनुवाद गरेको अभिज्ञानशाकुन्तलले पनि अक्स्फोर्डका विद्वान्हरूको संस्कृतप्रतिको लगावलाई पुष्टि गरेको छ । भारतका पूर्व राष्ट्रपति राधाकृष्णन् सर्वपल्ली र नेपालका डा. दिवाकर आचार्यले पनि इन्डोलोजीको प्राध्यापन गर्नुलाई दुवै देशमा गर्वको विषय बनाइएको छ ।

सन् १९७५ मा बेलायतको लण्डन शहरमा सेण्ट जेम्स विद्यालयको स्थापना भएको हो । पश्चिमी विद्यालयीय पाठ्यक्रमको ढाँचाभित्र शास्त्रीय भाषाका रूपमा यसले संस्कृतलाई स्वीकार गरेको छ । क्याम्ब्रिज विश्वविद्यालयको ए लेभलको कोर्सले पनि विश्वभर लोकप्रियता हासिल गरिरहेको छ । यसमा रामको जीवनी, हितोपदेश, श्रीभद्भगवद्गीता र केही काव्यात्मक कृतिहरूलाई उपयोग गरिएको छ ।

अमेरिकी कविहरू इमर्सन, ह्विट्म्यान र दार्शनिक थोरोले वेदान्तलाई आफ्ना रचनामा उपयोग गरेका छन् । थोरोले भनेका छन्, “मेरो बुद्धिले बिहान गीताको महान् ब्रह्माण्डीय दर्शनको ज्ञानमा स्नान गर्छ, जसको तुलनामा हाम्रो आधुनिक संसार र यसको साहित्य त छिचरा लाग्छन् ।” यही प्रसङ्गमा १९४८ मा नोबेल पुरस्कार विजेता टी.एस. इलियट भन्छन्, “पौरस्त्य दार्श्निकहरूको सूक्ष्मताका अगाडि युरोपका अधिकांश महान् दार्शनिकहरु स्कुले बालक जस्ता लाग्छन् ।”

संस्कृतको सन्दर्भमा अमेरिकामा Rosely Narimano, Salvador / Buenos Aires जस्ता विश्वविद्यालयहरूको नाम चर्चामा रहने गर्छन् । उक्त विश्वविद्यालयहरूमध्ये Buenos Aires नामक विश्वविद्यालयमा डा. फेमिन्डो तोला तथा डा. करमन डी तोलाका जोडीले ऋग्वेद संहिता, अथर्ववेद संहिता, गीतगोविन्द, योगसूत्र, दामोदर गुप्तको कुट्टकनीमत, उपनिषद्, अमरुकशतक र श्रीमद्भगवद्गीता जस्ता ग्रन्थहरूको अङ्ग्रेजी भाषामा अनुवाद गरे । त्यसपछि अमेरिकामा संस्कृतका वाङ्मयमा अमेरिकी नागरिक चासो बढ्दै गएको पाइन्छ । फलतः अमेरिकाका केही विद्यालयमा संस्कृत, ग्रिक र ल्याटिनको समूहमा ऐच्छिक विषयका रूपमा संस्कृत भाषाको अध्ययन अध्यापन हुन थालेको विषय छापामा आएका छन् ।

डेनमार्कको कोपनहेगन र फिनल्यान्डको हेलसिन्की विश्वविद्यालयमा इण्डोलोजीको पठनपाठनको अभ्यास छ । फिनल्यान्डको शिक्षा पद्धतिमा त योग र भगवद्गीतालाई पनि राख्ने अभ्यास छ । चेकोस्लोभाकियाको Prag विश्वविद्यालयका संस्कृत विषयका प्राध्यापकहरू मध्ये August Shloshar, Aifried Ludbich र Joseph Juballo ले ख्याति कमाएका थिए । त्यहाँ Winter Nitse, Winsek Lisner, Otker Pertold तथा Powel Maucha ले संस्कृतका विविध विषयक्षेत्रमा गरेका अनुसन्धानात्मक कार्यप्रगतिको ठुलै चर्चा हुने गर्दछ ।

अष्ट्रेलियामा अष्ट्रेलियन राष्ट्रिय विश्वविद्यालयले इण्डोलोजीको अध्ययनका लागि ढोका खोलिदिएको छ । अष्ट्रियामा भियाना विश्वविद्यालयले सन् १९५५ मा संस्कृत र इण्डोलोजी विभाग गठन गरी संस्कत वाङ्मयको सदुपयोग गरिरहेको छ । हङ्गेरीमा सत्रौँ शताब्दीदेखि तर्किस भाषासँग संस्कृतको सम्बन्धका आधारमा यसको अध्ययन अध्यापन कार्यको थालनी भएका समाचार पाइन्छन् । यसै सिलसिलामा सन् १७५९ मा Istalon Walinoke नामक विद्वान्ले संस्कृतको अध्ययन गरी हितोपदेश अनुवाद गरेलगत्तै धेरै विद्वान्हरू यसप्रति आकर्षित भई संस्कृतका ग्रन्थहरूको अनुवाद गर्ने कार्यलाई निरन्तरता दिएको इतिहास पढ्न पाइन्छ । यसै प्रसङ्मा सन् १९१४ मा विक्रमोर्वशीय, सन् १९१५ मा मृच्छकटिक र मानव धर्मशास्त्र, सन् १९२२ मा मालविकाग्निमित्र र सन् १९२४ मा पञ्चतन्त्र नामक पुस्तकहरू अनूदित भई प्रकाशित भएका छन् । यस क्रमलाई सन् १९४७ मा Oswold नामक विद्वान्ले कामसूत्र तथा सन् १९६० मा रामायण एवम् महाभारत जस्ता विश्वप्रसिद्ध ग्रन्थहरूका अनुदित स्वरूप प्रकाशन गरेको सन्दर्भबाट नै यस देशमा भएको संस्कृत भाषाको विकासको परम्परालाई सहज अनुमान गर्न सकिन्छ ।

आइएलटिस र टोफेलले अङ्ग्रेजी भाषाको विस्तार तथा स्तर निर्धारणमा प्रमुख भूमिका खेलेका छन् । आइएलटिस र टोफेल विदेशी भाषा सम्बद्ध विषय क्षेत्रलाई सम्प्रेषण विधिमा आधरित भई विकास गर्ने प्रचलनसँग सम्बन्धित छ । यस तथ्य भारतको एनसीआर्टीको अनुसन्धानले पनि पुष्टि गरिसकेको छ । उक्त अनुभवका आधारमा टोफेल जस्तै SAFL (Sanskrit as foreign Language) का अभ्यासको सुरुआत भएको पाइन्छ । संस्कृत भारती, चिन्मय मिसन, स्कोनले अमेरिकाबाट सन् २००९ बाट यस्तो अभियानको सूत्रपात गरेका थिए । क्याम्ब्रिज विश्वविद्यालयबाट नेपालमा छिरेको ए लेभलको सस्कृत कोर्सको औचित्य उत्तिकै छ । अतः संस्कृत शिक्षालाई नेपाल वा भारतको चस्माले मात्र चिहाउनु अपूर्णता हुन पुग्छ । पश्चिममा उदाउँदो तर पूर्वमा अस्ताउँदो अध्यात्म शिक्षाको समन्वय हुन आवश्यक छ । पूर्वको भण्डार र पश्चिमको सिपको एकीकरण यसको आधार बन्न सक्छ । edukhabar