स्थानीय तहले लिएकोे परीक्षाको नतिजा सात दिनमै, ११ दिनमा मार्कसिट

काठमाडौं – काठमाडौं महानगरपालिकाले कक्षा ८ को नतिजा सात दिनमै सार्वजनिक गरेर ११ औं दिनमा बिहीबार सबै विद्यार्थीलाई मार्कसिट वितरण गरेको छ । संविधानले विद्यालय शिक्षालाई स्थानीय सरकार मातहत ब्यवस्था गरेसँगै महानगरले कक्षा ८ को परीक्षा सञ्चालन गरेको थियो ।

गत चैत ८–१८ मा भएको परीक्षाको नतिजा २५ गते नै सार्वजनिक गरेको महानगर शिक्षा विभागले बिहीबार एक कार्यक्रम आयोजना गरी मार्कसिट वितरण गरेको हो ।

महानगर भित्रका ११ श्रोत केन्द्र अन्र्तगत रहेका ७८ सामुदायिक र ४ सय ७९ निजी गरी ५ सय ५७ विद्यालयमा कक्षा ८ मा अध्ययनरत १८ हजार ७ सय ४१ विद्यार्थी परीक्षामा सहभागी थिए ।

परीक्षाफल अनुसार महानगरको औषत जिपीए ३ दशमलम ०२ रहेको छ । जस अनुसार छात्रको तुलनामा छात्राको जिपीए धेरै आएको छ । छात्राहरुको ३ दशमलब ०५ जिपीए आउँदा छात्रको जिपीए २ दशमलब ९७ रहेको छ ।

नतिजा अनुसार गुह्येश्वरी माविले ३ दशमलब १४ जिपीए ल्याएर पहिलो भएको छ भने, रत्नराज्यमाविले र पद्मकन्या मावि क्रमशः दोश्रो र तेश्रो भएका छन् ।

प्रविधिको प्रयोगले नतिजा छिटो गर्न सकिएको विभागका प्रमुख प्रल्हाद अर्यालले बताए ।

‘पहिला पहिला कागजातमा रहने अभिलेखलाई विस्तारै प्रविधि मैत्री बनाउँदै छौं’ उनले भने, ‘विद्यार्थीको मार्कसिट लगायतका दस्तावेज सुरक्षाको लागि पनि प्रविधि प्रयोगलाई बढाउँदै लैजाने योजना बनाएका छौं ।’

परीक्षा सकिएको ४ दिन भित्र विभागले तयार गरेको सफ्टवेयरमा कापी परीक्षकले अंक दाखिला गरिसक्नु पर्ने गरी ब्यवस्था गरिएको थियो ।

कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अहिले प्राप्त उपलब्धिलाई थप विस्तार गर्दै महानगरको शैक्षिक गुणस्तर बढाउन आफू प्रतिवद्ध रहेको बताए ।

‘महानगरको अहिलेको औषत जिपीए ३ दशमलम ०२ रहेको छ, विद्यार्थीको नतिजालाई यो भन्दा राम्रो बनाउन के कस्ता नीतिगत ब्यवस्थाको आवश्यकता परेको छ बताउनुहोला’ शिक्षाका कर्मचारीलाई उनले भने, ‘पहिलो पटक भएको यो काममा केही कमी कमजोरी भए होलान् तर यसलाई सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न महानगर सँधै प्रतिवद्ध छ ।’

कार्यक्रममा उपप्रमुख हरीप्रभा खड्गी, टंगाल माविका प्रधानाध्यापक राजेन्द्र अधिकारी, निजी विद्यालयका तर्फबाट नगर परीक्षा समितिमा प्रतिनिधित्व गरेका गोपाल आचार्य लगायतले कक्षा आठको नतिजाका लागि महिनौं कुर्नु पर्ने विगत स्मरण गर्दै छिटो छरितो नतिजा सार्वजनिक गरेर महानगरले उदाहरणीय काम गरेको बताए ।

औपचारिक कार्यक्रम सकिए पछि विद्यार्थी र तीनका अभिभावक तथा सम्बन्धित विद्यालयका प्रसतिनिधिले विद्यार्थीको मार्कसिट बुझेका थिए ।

कार्यक्रममा महानगर प्रमुख शाक्यले नयाँ शैक्षिक सत्रको क्यालेण्डर समेत समाबेश गरिएको महानगरको क्यालेण्डर सार्वजनिक गरेका थिए । edukhabar